Trekking Buzz

Nepal Trekking Company
  • Latest News

    Monday, September 22, 2014

    पोखरामा सुरु भयो बन्जीजम्प

    Bungy Jumping in Pokhara
    Bungy Jumping in Pokhara

    पोखरा : साहसिक खेलका लागि प्रसिद्धि कमाउँदै आएको पोखरामा बन्जीजम्प पनि थपिएको छ। मंगलम ग्रुप र गोल्छा अर्गनाइजेसनको संयुक्त कम्पनी हाइग्राउन्ड एडभेन्चेयर्सले कास्कीको हेम्जामा जिप फ्लायरपछि अर्को साहासिक खेल बन्जीजम्प भित्र्याएको हो।

    करिब दुई करोड रुपैयाँ लगानीमा हेमजास्थित याम्दी खोलामाथि बन्जीजम्प टावर निर्माण गरिएको छ। यसलाई आइतबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याइएको हो।

    प्रबन्ध निर्देशक अभिनव चुरिवालले पोखरा आएका पर्यटकलाई थप रमाइलोका लागि बन्जीजम्प भित्र्याएको बताए। 'साहसिक पर्यटकका लागि पोखरामा थुप्रै पूर्वाधार छन्। तिनमा मिसिन हामी आएका छौं', उनले भने, 'यसले पोखरालाई अझै माथि पुर्‍याउनेछ।'

    हाम फाल्नका लागि ४५ मिटर लामो पुल आकारको टावर बनाइएको छ। यही पुलबाट ७० मिटर तल याम्दी खोला किनारमा झर्न मिल्छ। टावर खडा गरेर नेपालमै पहिलो पटक यस्तो बन्जी सुरु गरिएको चुरिवालले बताए।

    टावरबाट हामफालेर हावामा कावा खाँदै साहसिक खेलप्रेमी खोलाकिनारमा निर्माण गरिएको पोखरीमा ओर्लन पुग्छन्। पोखरीमा डुंगा राखिएको छ। युरोपियन उपकरणबाट यो टावर खडा गरिएको चुरिवालले जानकारी दिए।

    'युरोपेली जम्पमास्टरको निगरानीमा भइरहेको साहसिक खेल बन्जी दिनमा ३० देखि ४० जनाले गर्न सक्छन्', उनले भने, 'यसमा सुरक्षा भरपर्दो छ। सुरक्षा प्रविधिमा आशंका गर्नुपर्दैन। बन्जी मास्टर लरेस मेल्करसले पूर्ण सुरक्षा प्रविधि अपनाइएकोले बन्जीजम्पमा कुनै खतरा नरहेको बताए।

    अर्का लगानीकर्ता शरद गोल्छाले यो खेल सुरु भएसँगै पोखरा साहसिक खेलका सौखिनका लागि थप आकर्षक गन्तव्य बनेको बताए। 'जिप फ्लायर, प्याराग्लाइडिङ, अल्ट्रालाइट, र्‍याफ्टिङ, कायाकिङ, क्यानोनिङजस्ता साहसिक खेल पोखरामा यसअघि नै सञ्‍चालन भइरहेकोमा यसले थप सहयोग पुर्‍याउनेछ', गोल्छाले भने, 'यो खेल थपिएपछि यति धेरै साहसिक खेल एउटै सहरमा खेल्न सकिने पोखरा नेपालकै पहिलो सहर बन्‍नेछ।'

    आँखामै टाँसिन आउने अन्नपूर्ण हिमशृंखला हेर्दै हरियाली वातावरणमा यस्तो साहसिक खेल खेल्ने सुविधा संसारकै नौलो हुने सञ्चालक गोल्छाले बताए। यो खेलका लागि विदेशी पर्यटक र आन्तरिक पर्यटकलाई छट्टाछुट्टै शुल्क तोकिएको छ।

    विदेशीलाई ६ हजार चार सय ९० र नेपालीलाई तीन हजार चार सय ९० रुपैयाँ तय गरिएको चुरिवालले जानकारी दिए। यसमा विद्यार्थीलाई १० प्रतिशत छुट गरिने पनि उनले जानकारी दिए। जिपफ्लायरसमेत गर्दा विदेशीलाई नौ हजार नौ सय ९० र नेपालीलाई पाँच हजार चार सय ९० रुपैयाँ शुल्क लाग्नेछ।

    'दुवै खेललाई प्रवर्द्धन गर्न संयुक्त शुल्क तोकेका हौं', उनले भने, 'यसले एकअर्कालाई सघाउँछ।' जिपफ्लायरका लागि मात्र नेपालीलाई तीन हजार आठ सय ९० र विदेशीलाई ६ हजार चार सय ९० रुपैयाँ लाग्छ। जम्प गर्नेको पाँच लाख रुपैयाँको दुर्घटना बिमा गरिएको पनि चुरिवालले बताए।

    आइतबारै बन्जीजम्प गरेकी काठमाडौंकी नुतन राणाले डोरीमा बाँधिएर चराझैं उड्दा छुट्टै आनन्द आएको बताइन्। 'हामफाल्नुअघि केही अप्ठेरो लागेको थियो। तल झरिसकेपछि डोरीमा यताउता गर्दा केही डर लागे पनि पछि भने रमाइलो लाग्यो', उनले भनिन्।

    बन्जीजम्प सिन्धुपाल्चोकको भोटेकोसीमा पनि सञ्‍चालनमा छ। भोटेकोसीमा झोलुंगेपुलबाट हामफाल्ने व्यवस्था गरिएको छ। इनफोबन्जीजम्प गर्नेका लागि हाम फाल्न ४५ मिटर लामो पुल आकारको टावर बनाइएको छ। यही पुलबाट ७० मिटर तल याम्दी खोला किनारमा झर्न मिल्छ।

    Visit www.trekkingbuzz.com for packages

    समाचार: अन्नपूर्ण पोस्ट
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: पोखरामा सुरु भयो बन्जीजम्प Rating: 5 Reviewed By: SEO Expert in Nepal